चिवाभञ्ज्याङमा बोर्डर आउट पोष्टको भवन उद्घाटन

Breaking News समाचार

पाँचथर,जेठ २९,
जिल्लाको भारतको सिक्किमसँग सिमाना जोडिएको याङवरक गाँउपालिकाको चिवाभञ्ज्याङमा बोर्डर आउट पोष्ट (बीओपी) भवन शुक्रबार उद्घाटन भएको छ ।
शुक्रबार एक कार्यक्रम गर्दै सशत्र प्रहरी १ नम्बर प्रदेशका बाहिनीपति (डिआइजी) वंशिराज दाहाल र पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।


संघीय सरकारको ९८ लाख ६६ हजार रुपैयाँ आर्थिक लगानीमा निर्माण भएको बिओपी भवन गत पुष महिनादेखि निर्माण सुरु भएको सशस्त्र प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि याङवरक गाउँपालिकाले बिओपिका लागि २ लाख लगानी गरेर किचन घर निर्माण गरेको थियो भने ४ लाखको सोलार सेट र खानेपानीको प्रबन्ध पनि गाउँपालिकाकै लगानीमा ब्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।


चिवाभञ्ज्याङबाट करिब ४ घण्टाको यात्रा तय गर्दा सिक्किम पुगिन्छ । यो सिमाना नाकामा चिवाभञ्ज्याङ र सिक्किमबीच आवत–जावतका लागि मोटर बाटो निर्माण भएको छ । गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङले सो स्थानमा भन्सार नाका समेत निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *